भारतमा एकैदिन १० हजार संक्रमित, २७९ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित फेला परेका छन् ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ ।
भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ।
