युरिया मल नपाएर रित्तै फर्किए मकवानपुरका कृषक, उपमेयरलाई दिए मकैको बोट

तु खबर संवाददाता
२०७७ जेष्ठ २६, सोमबार १३:५४
Featured Video Play Icon

मकवानपुर । मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरुले बताउँदै आएका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ निवासी ब्रबिम बर्तौलाले पटक–पटक हेटौँडाका कृषि सहकारीमा मल पाइने आशले मल किन्न लाइन बसेपनि हालसम्म मल पाउन नसकेको गुनासो गरेका छन् ।

उनी त प्रतिनिधि पात्र मात्रै हुन् मकवानपुरका विभिन्न स्थानीय तहका कृषकहरु आज विहानै हेटौँडा बजारका कृषि सहकारीहरुमा मल पाइने आशले लाइन बसेका थिए । तर उनीहरुले मल भने पाएनन् ।

मकैमा मल हाल्न नपाएपछि यस वर्ष उत्पादन घट्ने चिन्ता कृषकहरुको छ ।

मल बिक्री वितरण गर्दै आएका हुप्रचौर कृषि सहकारी संस्थाका संचालक सुजल श्रेष्ठ मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको बताउँछन् । किसानको मागअनुसार मल नआएकोले कृषकहरूलाई मल दिन नसकेको उनको भनाई छ ।

सरकारविरुद्ध नाराबाजी

मल किन्नका लागि कृषि सहकारी अगाडि घण्टौँ लाइन बसेका कृषकहरु मल नपाएपछि आक्रोशित बनेका छन् ।

कृषकलाई सिजनमा मल उपलब्ध गराउन समेत नसकेको भन्दै उनीहरुले हेटौँडाको बुद्धचोकमा नाराबाजी गर्दै सरकारको विरोध गरेका छन् ।

मकैमा मल हाल्न नपाउँदा मकै नफल्ने र आफुहरुको गाँस काटिने कृषकहरुको भनाई छ । उनीहरुले आज विहान प्ले कार्डसहित प्रदर्शन र नाराबाजी समेत गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकामा डेलिगेशन

मल नपाएर आक्रोशित भएका कृषकहरु हेटौँडा उपमहानगरपालिकामा डेलिगेशनमा पुगे ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको नेतृत्वमा कृषि सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोली छलफलमा सहभागि थियो ।

छलफल पछि भोलिसम्म ३ सय २० बोरा मल झिकाइने उपमेयर मिना लामाले आश्वासन दिएकी छिन् ।

तु खबरसंग कुराकानी गर्दै उपमेयर मिना लामाले भनिन् ‘ मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन् । हामीसमक्ष गुनासो आएपछि हामीले समाधानको लागि सानै भएपनि प्रयास गरेका छौँ ।

यो राज्यकै समस्या भएकोले सबैतहबाट यसको निकास खोजिनु आवश्यक छ ।’

उनले किसानहरुको समस्या समाधानका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताईन् ।

हेर्नुहोस् भिडियो –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*