होम क्वारेन्टिनका नाममा पन्छिन खोज्दै सरकार

कोरोना भाइरसबाट संक्रमितको संख्या उकालो लाग्दा सरकारलाई व्यवस्थापनमा मुस्किल परेको छ। समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको आजको नागरिक दैनिकमा समाचार छ।
स्वास्थ्य मन्त्रालयले अब थपिएका संक्रमितलाई होम क्वारेन्टिन राख्नुको विकल्प नभएको बताउन थालेको छ।
स्वास्थ्य मन्त्रालयले गरेको तयारीमा कोरोना संक्रमितका लागि छुट्याइएको आइसोलेसन बेडको संख्या दुई हजारभन्दा कम छ। अहिले दैनिक डेढ सयभन्दा बढी संक्रमित थपिन थालेपछि सरकारको पूर्वतयारी अपर्याप्त देखिएको छ ।
सरकारले सुरुमा १५ सय बिरामी कोरोनाबाट संक्रमित हुन सक्ने आकलनका साथ तयारी गरेको देखिन्छ। तर संक्रमितको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि सरकारको अनुमान गलत साबित भएको छ।