१८ लाखको गुट्खा बोकेको कन्टेनर समातेर एसपी राठौरले सेटिङमा छोडे (हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७७ जेष्ठ ११, आईतवार १२:४१

मकवानपुर । लकडाउनको अवधिमा गाडिमा औषधि ढुवानी लेखिएको स्टिकर टाँसेर गुट्खा रजनीगन्धा ओसार पसार गर्ने ना ३ ख ४७८४ नम्वरको कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले पक्राउ गरी मुचुल्का उठाएपछि त्यसै छाडिदिएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठोेरको निर्देशनमा उक्त कन्टेनर छोडिएको हो ।

अत्यावश्यक सामग्री ओसारपसार गर्नेबाहेक कुनै पनि सवारी साधन चल्न नदिन गृह मन्त्रालयले निर्देशननै जारी गरेको छ । अत्यावश्यक सामग्रीबाहेक कुनै पनि सामग्री ओसार पसार गर्न पनि पाइदैन । तर प्रहरीकै मिलेमतोमा औषधी ढुवानी भन्दै साँढे १७ लाख बराबरको गुट्खा ढुवानी गरेको ट्रक हिजो साँझ नै छोडिएको हो ।

हिजो शनिबार विहान हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा इलाका प्रहरी कार्यालय पशुपति नगरबाट प्रहरी निरीक्षक अरुण कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौँबाट राजविराजतर्फ जाँदै गरेको ना ३ ख ४७८४ नम्वरको ट्रक नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाको आधारमा प्रहरीले आवश्यक चेकजाँच गर्दा औषधी ढुवानी लेखेको गाडिमा गुड्खा भेटिएपछि प्रहरीले गुड्खासहितको गाडि नियन्त्रणमा लिएको थियो । प्रहरीले पत्रकारहरुलाई बोलाएर, उक्त घटना सार्वजनिकसमेत गरेको थियो ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष लक्ष्मण भण्डारीसहित मकवानपुरका पत्रकार र नागरिक अगुवाहरुसमेतको सहभागितामा बरामदी मुचुल्का समेत उठाएर आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाएको थियो ।
बरामदी मुचुल्का उठाएर कारबाही अघि बढाइएको भएपनि  मकवानपुरका एसपी राठोरको निर्देशनमा उक्त गाडि त्यसै छोडिएको हो ।

राजश्वको हाकीमले छोड्दे भन्नुभयो,त्यही भएर छोड्यौँ – एसपी राठौर

मकवानपुरका एसपी सुशील सिंह राठौरले आफुहरुले उक्त गाडि छोडेको स्वीकार गरेका छन् । राजस्वको हाकिम साहेबले गाडि छोडिदिनु भनेपछि प्रहरीले गाडि छोडेको हो – उनले भने ।

प्रमुख कर अधिकृत ढकाल यसो भन्छन्

तु खबरले मकवानपुरका प्रमुख कर अधिकृत सन्त ढकाललाई तपाईले प्रहरीलाई गाडि छोड्न आदेश दिनुभएको हो भनेर प्रश्न गरेको थियो । उनले आफुले यस्तो आदेश नगरेको बताए ।

मैले प्रहरीलाई आदेश गर्न मिल्दैन – उनले भने ।

प्रहरीले जानकारी गराएपछि म इलाका प्रहरी कार्यालय पशुपतिनगर नै पुगेको थिएँ । करले हेर्ने भनेको उक्त सामग्री चोरीको हो वा होइन, बिलबिजक जारी भएको छ कि छैन, राजस्व तिरेको छ कि छैन भन्ने हो । त्यो सबै हेरेँ पुरा रहेछ ।

गृह मन्त्रालयको अन्य निर्देशन पालना गराउने जिम्मा प्रहरीको हो । राख्ने छोड्ने के गर्ने प्रहरीको कुरा हो मैले छोड्न भनेको होइन ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष लक्ष्मण भण्डारीले बरामदी मुचुल्कामा आफूलाई सही गराएको जानकारी दिए । पछि कन्टेनर छोडिदिएको बारे केही भनिएको छैन, उनले तु खबरलाई भने ।

समान्यतः बरामदी मुचुल्का तयार भइसकेको अवस्थामा अनुसन्धान प्रकृया अघि बढाउनुपर्ने हुन्छ । यदि, अनुसन्धानले निर्दोष ठहरिएमा जो जे गर्नुपर्ने हो कानून अनुसार गरिनुपर्ने हुन्छ तर एसपी राठौरले पदीय दुरुपयोग गरी कन्टनेर छोडिदिएको खुलेको छ ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*