रुपन्देही र बाँकेका चार स्थानमा सिल
बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा सिल गरिएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेपछि स्थानीय प्रशासनले ती क्षेत्रमा शुक्रबार साँझदेखि सिल गरिएको हो ।
रुपन्देहीका २५ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएपछि युवकको गाउँ कोटहिमाई वडा नं. १ को पुर्निहवामा सिल गराएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित ६० वर्षीय पुरुष वडा नं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए ।
नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सिल गरिएको हो ।
बाँकेको डडुवा गाउँपालिकाका ती युवक केही वर्षदेखि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।
