मछिन्द्र पहिलो पटक लिग च्याम्पियन

तु खबर संवाददाता
२०७६ फाल्गुन ३, शनिबार १६:१०

काठमाडौं, ३ फागुन । मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि जितेको छ । मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको छ ।

त्रिपुरेश्रस्थित दशरथ रंगशालामा आज शनिवार भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै बलियो विभागीय टिमलाई पन्छाएर उपाधि उचालेको छ ।

खेलमा आर्मीविरुद्ध हावी भएको मछिन्द्रले खेलको पहिलो हाफमै उपहार गोल पायो । खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको लागि निर्णायक बन्यो।

मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा तामाङले आफ्नै पोस्टमा गोल गर्न पुगे। मछिन्द्रले ३१ अंक जोड्यो भने आर्मी २९ अंकमा सीमित भयो।

च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ । आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसँग पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*