फागुन ३ गतेदेखि बागमती गोल्डकप, ७ हजार दर्शकले एकैसाथ हेर्न सक्ने
हेटौंडा, २६ माघ । मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिकामा हुन लागेको तेस्रो बागमती गोल्डकप–२०७६ को तयारी पूरा भएको छ ।
फागुन ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपमा ए डिभिजन लिगका ५ र मोफसलका ५ क्लबले प्रतिस्पर्धा गर्ने छन् । बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा हुने गोल्डकपको लागि मैदान निर्माण प्याराफिट निर्माणको काम सकिएको आयोजकले जानकारी दिएको छ ।
बागमती खेलकुद विकास समितिको आयोजनामा हुन लागेको गोल्डकपमा एकैसाथ ७ हजार दर्शकले खेल हेर्न सकिने आयोजकले जनाएको छ ।
मैदानमा कंक्रिट प्याराफिट निर्माण गरिएको समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक अरुण बलले बताए । उनका अनुसार प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने बलले जानकारी दिए ।
त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।
गोल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छ । उपविजेतले ३ लाख हात पर्ने संयोजक बलले जानकारी दिए । गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् ।
उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउने बलले बताए ।
