अख्तियारले गच्छदारलाई मुद्दा दायर गरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध

तु खबर संवाददाता
२०७६ माघ २३, बिहीबार १४:३६
file photo

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले मुद्दा दायर गरेको आरोप लगाउँदै प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ।

वैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मको लागि वैठक स्थगित गरेका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएको बताएकी छन् ।
अख्तियारले राजनीतिक दबाबमा परेर मुद्दा दायर गरेको उनको दावी थियो । यो समाचार अन्नपूर्णपोष्टमा छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद भुसालले यस्तो बताएकी हुन् । ललिता निवास जग्गा प्रकरणमा संलग्न अन्य मन्त्री तथा व्यक्तिमाथि अहिलेको सरकार मौन रहेकोमा नेत्री भुसालले गुनासो गरेकी थिइन् ।

लोकतन्त्रमा सबैलाई समान व्यवहार गरिनुपर्नेमा लोकतान्त्रिक संघर्ष गरेका नेतामाथि अन्याय भएको भुसालको भनाइ छ । यस घटनाप्रति प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको उनले बताइन् ।

माधव नेपाल प्रधानमन्त्री छँदा गच्छदार भौतिक तथा निर्माणमन्त्री थिए । सांसद भुसालले भने सरकारी जग्गा अपचलन प्रकरणमा तत्कालिन प्रधानमन्त्री नै जिम्मेवार हुनुपर्ने तर्क गरेकी थिइन् ।

सांसद भुसालले बोलेपछि प्रतिपक्षी दलको विरोधसँगै सभामुख अग्नि सापकोटाले भोलि १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*