बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलविरुद्ध उजुरी परेन, माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने

तु खबर संवाददाता
२०७६ माघ २२, बुधबार १८:५०
file-photo

काठमाडौं, २२ माघ । बालुवाटारमा रहेको ललिता निवास जग्गा अनियमिता प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम परेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराइए पनि बालुवाटारको जग्गा प्रकरणमा चर्चामा रहेका महासचिव पौडेलको नाम नपरेको हो।

पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको हो। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ। व्यवसायी मीनबहादुर गुरुङको नाम पनि यो सूचीमा रहेको छ।

मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई विरुद्ध भने मुद्दा नचलाउने तय भएको छ।

त्यस्तै नेता लीलामणि पोखरेलविरुद्ध पनि मुद्दा नचलाइने भएको छ। सबै गरी १० जनाको मुद्दा भने नचलाइने भएको छ। १ सय १० जनाको जग्गा जफत सहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ।

सबैभन्दा धेरै मागदावी शशीकान्त ढकालमाथि गरिएको छ। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँको मागदावीसहित मुद्दा दायर भएको हो।

त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदावी गरिएको छ। भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ।

साभारः पहिलोपोष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*