छात्रा भलिवल कृष्ण आदर्शलाई, छात्रमा जिएस
हेटौंडा, २१ माघ । हेटौंडामा जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ सकिएको छ । आज मंगलबार छात्र भलिवलको फाइनलसँगै यसवर्षको प्रतियोगिताको समापन गरिएको हो ।
प्रतियोगिताको छात्रा भलिवलको उपाधि हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श इङलिश बोर्डिङ स्कुलले जितेको छ । यो उपाधिसँगै कृष्ण आदर्शको छात्रा भलिवल टिमले ४ पटक उपाधि जितेर इतिहास रचेको छ । कृष्ण आदर्शले जिएस निकेतनलाई २५–२२, २५–२३ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो ।
यसैगरी छात्र भलिवलमा जिएस निकेतनले उपाधि उचालेको छ । आज मंगलबार भएको खेलमा जिएसले सुनगाभा शिक्षा निकेतनलाई २५–१९, २५–२३ र २५–२३ को सोझो सेटमा निरीह बनाएको हो । छात्र भलिवलमा हेटौंडा एकेडेमीले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
छात्रा भलिवलमा उत्कृष्ट खेलाडी कृष्ण आदर्शकी आयुषा सिंह हुँदा कृष्ण आदर्शकै भिजन पराजुली उत्कृष्ट स्पाइक, पुजा यादव उत्कृष्ट सेटर र राजेश बस्नेत उत्कृष्ट प्रशिक्षक चुनिए । सबै विधामा कृष्ण आदर्श अब्बल भएको छ ।
छात्र भलिवलको उत्कृष्ट खेलाडी जिएस निकेतनका स्पन्दन शिवाकोटी हुँदा उत्कृष्ट स्पाइक सुनगाभाका श्रीयान महर्जन, उत्कृष्ट सेटर जिएसका श्रीजल लोहनी र उत्कृष्ट प्रशिक्षक अमृत मिश्र घोषित भए ।
विजेता स्कूल र उत्कृष्ट खेलाडीलाई प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, प्याब्सन मकवानपुरका निवर्तमान अध्यक्ष मदन दाहाल, प्याब्सनका वर्तमान सचिव नवीन केसीलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ भएको थियो ।

