मकवानपुरका ३ जना खेलकुद पदाधिकारी सपथ लिनै आएनन्
हेटौंडा, २१ माघ । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा मकवानपुरका ३ जना खेलकुद पदाधिकारीहरु अनुपस्थित भएका छन् ।
आज मंगलबार हेटौंडास्थित समाजिक विकास मन्त्रालयमा १३ वटै जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्ती तथा सपथ ग्रहण गराइएको थियो । मन्त्री युवराज दुलालले खेलकुद पदाधिकारीहरुलाई सपथ गराएका थिए ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्यमा चयन भएका लवराज ठकुरी, परमावती गोपाली सुमित्रा र भोजराज पराजुलीले समिति सदस्यमा सपथ नलिएका हुन् । जिल्ला अध्यक्ष सानु लामा दोङ र सदस्य निरु मगरले मात्रै सपथ लिए ।
स्रोतका अनुसार ३ सदस्यले जिल्लाको खेलकुद पदाधिकारी चयनमा असन्तुष्टी जनाउँदै सपथ लिन नआएको जनाइएको छ । ठकुरी जिल्ला अध्यक्षको दाबेदार थिए । अध्यक्षको लागि ठकुरीको नाम पनि सिफारिस भएको थियो ।
ठकुरीले आफू स्वस्थ नभएको कारण कार्यक्रममा आउन नसकेको बताए । ‘म बिरामी भएको छु । रुघा खोकीले ग्रस्त भएकोले आउन सकिन् । हाल जिल्ला बाहिर भएको कारण कार्यक्रममा आउन नसकेको हो ।–’ तु खबरसँग कुरा गर्दै ठकुरीले भने ।
अनुपस्थित ३ जना सदस्यलाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी स्वयमले सपथ ग्रहणमा सहभागी हुन अनुरोध गरेका थिए ।
जिल्ला अध्यक्ष लामाले आफूले पनि नियुक्ती र सपथ लिन आउन आग्रह गरेको भन्दै उनीहरु सहभागी नहुनुको कारण बारे थाहा नभएको बताए ।
