बालजागृती बोर्डिङ नेपाली हिज्जे र वक्तृत्वकलामा प्रथम
हेटौंडा, १९ माघ । हेटौंडाको बालजागृती इङलिश बोर्डिङ स्कूलले हेटौंडामा जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिताको दुई विधामा प्रथम भएको छ ।
आज आइतबार भएको नेपाली हिज्जे र वक्तृत्वकला प्रतियोगितामा बालजागृती प्रथम भएको हो । नेपाली हिज्जेमा बालजागृती प्रथम, ज्ञानोदय बालबाटिका आवासीय मावि द्वितीय र जिएस निकेतन तृतीय भएको छ ।
बक्तृत्वकला प्रतियोगितामा बालजागृती प्रथम, नवोदय शिशु सदन द्वितीय र ज्ञानोदय बालबाटिका तृतीय भएको छ । यसैगरी आज हुने भनिएको छात्र भलिवलको फाइनल केही दिनपछि धकेलिएको छ । भोली सोमबार प्रतियोगिता समापन हुनेछ । भलिवल खेललाई पछि गर्ने गरी समापन गर्न लागिएको आयोजकले जनाएको छ ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ भएको हो । हरेक वर्ष नीजि विद्यालयहरुबीच प्रतियोगिता हुने गरेको छ ।
प्रतियोगितामा मकवानपुरका निजी विद्यालयका खेलाडीहरुले भलिवल, चेस, चित्रकला, मेमोरी टेष्ट, ओरयाटोरीलगायतका खेलमा प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा यसवर्ष क्रिकेट खेल भने समावेश गरिएको छैन् ।
