हेटौंडामा तेक्वान्दो कर्वड हल शिलान्यास
हेटौंडा, १६ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा तेक्वान्दो खेलको विकासको लागि तेक्वान्दो कर्वड हल निर्माण हुने भएको छ । नेपाल तेक्वान्दो संघ मकवानपुरको पहलमा कर्वड हल बनाउन लागिएको हो ।
हेटौंडा–४ कर्रा श्रमिकपथमा निर्माण हुने कर्वड हलको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले आज बिहीवार शिलान्यास गरेका छन् ।
कर्वड निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ दिएको छ । लालकाजी रत्न बज्राचार्यको अध्यक्षतामा तेक्वान्दो कर्वड हल निर्माण उपभोक्ता समिति गठन गरेर कवर्ड हल निर्माण सुरु गरिएको हो । १ वर्षभित्र सुविधासम्पन्न कर्वड हल बनाइसक्ने अध्यक्ष बज्राचार्यले बताए ।
संघले कर्वड हल निर्माणलाई पूर्णता दिलाउन ४५ लाख रुपैयाँ कुल लागत लाग्ने जनाइएको छ । कवर्ड हल बनाउन प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतका खेलकुद सम्बद्ध निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।
करिब ६० जना अट्ने क्षमताको कर्वड हल ३२ मिटर चौडाई र ४५ मिटर उचाईको हुनेछ । कर्वड हलसहित महिला–पुरुष खेलाडीको चेञ्जिङ रुम, शौचालय, बाथरुमलगायतका संरचना निर्माण हुनेछ ।

