विरोध खतिवडाले गाँजा फुकुवा गर्न लगे संसद्मा प्रस्ताव

तु खबर संवाददाता
२०७६ माघ १६, बिहीबार ०८:१५
file-photo

हेटौंडा, १६ माघ । सांसद विरोध खतिवडाले गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । खतिवडाको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन् ।

‘नेपालको भूभाग प्राकृतिक रूपमै गाँजाखेतीका लागि अब्बल रहेको हुँदा विश्वका अन्य देशले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि ध्यानमा राखी अहिलेको कानुन परिमार्जन गरी सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिलो भइरहेकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्दछौं’, खतिवडाले भनेका छन् ।

प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जनार्दन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाईं, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले समर्थन गरेका छन् ।

नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने सांसदहरूको तर्क छ ।

गाँजाबाट तीन सय बढी प्राकृतिक औषधि उत्पादन हुने र प्राकृतिक उपचार विधिमा सहयोग पुग्ने प्रस्तावमा छ । लागूऔषध तथा नियन्त्रण ऐनमा गाँजा उत्पादन र सेवनमा संलग्नमाथि कैद र जरिबानाको व्यवस्था छ ।

सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ ।

१९७० को दशकमा भाँगो तथा गाँजालाई लागूऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीसमेत विश्वका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ ।

मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*