आज हेटौंडा आउँदै राष्ट्रिपति विद्यादेवी भण्डारी
हेटौंडा, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएकी छिन् ।
हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउने कार्यक्रम रहेको छ । स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ ।
पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वा्चित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ । पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले प्रतिमा अनावरण गर्ने कार्यक्रम पनि रहेको छ ।
सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले बताए । यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन् ।
२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ ।
हेलिकप्टर मार्फत् आउने राष्ट्रपति भण्डारी बाग्मती प्रदेश प्रहरी कार्यालय थानाभ¥यामा अवतरण भएर स्मारक जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न बाग्मती प्रदेश सरकार, मध्यपृतना, प्रदेश प्रहरी कार्यालयलगायतका सुरक्षा निकाय ध्यान दिएर लागिपरेका छन् ।
