बागमती गोल्डकपको तेस्रो संस्करण फागुनमा
हेटौंडा, १३ माघ । बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार बागमती गाउँपालिकाको फापरबारीमा पत्रकार सम्मेलनको आयोजना गरी बागमती गोल्डकपको तेस्रो संस्करण फागुन १ गतेदेखि १० गतेसम्म हुने जानकारी गराएको हो ।
जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन र आयोजकसहित १० वटा टिम सहभागी हुनेछ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः ६ लाख र ३ लाखसहित शिल्डमेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार, विधागत उत्कृष्ट ५ खेलाडीलाई जनही १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँसहित शिल्डमेडल र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।
