बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारीः फुँयाललाई भौतिक, ३ सांसद राज्यमन्त्री
हेटौंडा, ११ माघ । बागमती प्रदेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्रीपरिषद् विस्तारको लागि आन्तरिक छलफल सुरु भएको छ ।
बागमती प्रदेशको स्थायी राजधानी र नामकरणको विषय प्रदेशसभाले पुसअन्तिम साता टुंगाएसँगै बागमती प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेको हो । मन्त्रीपरिषद् विस्तारको तयारी भइरहँदा मन्त्री र राज्यमन्त्रीको लागि प्रदेश सांसदहरुले लबिङ सुरु गरिसकेका छन् ।
केशव स्थापितलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको उक्त मन्त्रालय नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँललाई दिने तयारी नेकपाभित्र भइरहेको स्रोतको दावी छ ।
फुँयाल यसअघि संविधानसभा सदस्य भइसकेका छन् । फुँयालले हेटौंडालाई स्थायी राजधानी बनाउन सकारात्मक भूमिका खेलेका थिए । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैंले लिइरहेका छन् ।
नेकपाभित्र राज्यमन्त्रीका लागि पनि रस्साकस्सी सुरु भएको छ । केही राज्यमन्त्री थप गर्न आन्तरिक छलफल र परामर्श भइरहेको स्रोतले जानकारी दिएको छ ।
राज्यमन्त्रीको लागि मकवानपुरकी सांसद कुमारी मोक्तान, चितवनकी सांसद कञ्चन खनाल र दोलखाका सांसद विशाल खड्काको चर्चा छ ।
बागमती प्रदेशमा मन्त्रालय भने थप नहुने संकेत देखिएको छ । प्रदेशको स्थायी राजधानी र नाममा सहमतीको प्रयास खोज्दै यसअघि भएको नेकपा संसदीय दलको बैठकमा मन्त्रालय विस्तार गर्नुपर्ने माग उठेको थियो । हाल प्रदेशमा ७ मन्त्रालय छन् ।
