बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रको शालिक भत्काउन नदिने कमल थापाको उद्घोष

तु खबर संवाददाता
२०७६ माघ ४, शनिबार १५:५५
file photo

हेटौंडा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौरस्थित रहेको बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रका शालिक भत्काउन नदिने बताएका छन् ।

अध्यक्ष थापाले राप्रपा निकट ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार हेटौंडामा आयोजित बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सभागृह र स्व. वीरेन्द्रको शालिकलाई भत्काएर सोही स्थानमा भ्यु टावर बनाउन नदिने बताएका हुन् । उनले सभागृहलाई थप स्तरोन्ती गर्न प्रदेश सरकारसँग माग गरे ।

पूर्व–उपप्रधानमन्त्री समेत रहेका थापाले अमेरिकन सरकारसँग तत्कालिन नेपाल सरकारले राष्ट्रिय सहमतिको आधारमा एमसीसी सम्झौता गरिएको हो तर, त्यो सम्झौतामा सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनको लागि नगरिएको बताए ।

उनले उक्त सम्झौता रद्द हुँदा हेटौंडा–भीमफेदीको सडक स्तरोन्ती, प्रदेश नं. १ अन्तरगत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौंडाको रातोमाटे हुँदै बुटवलसम्मको हाईटेन्सन विद्युत लाईन निर्माणमासमेत ठूलो अवरोध पुग्ने चिन्ता व्यक्त गरे ।

साथै उनले संसदलाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने भन्दै सत्तारुढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख छान्न सुझाव दिए ।

अध्यक्ष थापाले आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*