संविधानले दिएको अधिकार पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार : मुख्यमन्त्री पौडेल
हेटौंडा, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधानले दिएको अधिकारलाई नै पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार पुगेको बताएका छन् ।
शुक्रबारबाट हेटौंडामा सुरु भएको ‘विकास र समृद्धिमा अन्तरतह समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै संघीयता नै धरापमा परेको बताए ।
उनले कामको वर्गीकरण नहुँदा प्रदेश सरकारले सोचे अनुसारको क्रियाकलाप गर्न नसकेको पनि बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेशले के–कस्तो काम गर्ने भन्नेबारे अझैपनि अन्यौलता रहेको छ, यो पाराले परिवर्तन कसरी संभव छ ? भन्दै प्रश्न गरे ।
उनले नेपालमा ठुलाठुला राजनीतिक परिवर्तन भएपनि मानिसहरुको दिमागमा कुनै परिवर्तन देखा नपरेको भन्दै चिन्ता समेत ब्यक्त गरे ।
संघिय सांसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा भएको उक्त कार्यक्रम दुई दिनसम्म संचालन हुनेछ ।
