हेटौंडा उपमहानगरको प्रस्तावः भुटनदेवी पछाडी प्रदेशसभा भवन

तु खबर संवाददाता
२०७६ पुष २९, मंगलवार १०:२५

हेटौंडा, २९ पुस । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेशको प्रदेशसभा भवन हेटौंडा–४ स्थित भुटनदेवी विद्यालयको खाली जग्गामा बनाउन प्रस्ताव गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले भुटनदेवी चौरमा प्रदेशसभा भवन बनाउन प्रदेश सरकारलाई प्रस्ताव गरेको नगर प्रमुख हरिबहादुर महतले बताए ।

उनले सवारी पार्किङ र करिब २ हजार सिट क्षमताको सभाहल बनाउन भुटनदेवी स्कुलको पछाडि पट्टीको खाली जग्गामा उपयुक्त भएको तु खबरलाई बताए ।

हेटौंडा उपमहानगरले प्रदेश सरकारसँगको साझेदारीमा भुटनदेवी स्कूलको ३ विगहा ९ कठ्ठा जग्गामा २ हजार सिट क्षमताको अन्तराष्ट्रिय सभाहल बनाउने कार्यपालिकाबाट निर्णय गरेको छ ।

सोही अन्तराष्ट्रिय सभाहललाई प्रदेशसभा भवन बनाउन प्रदेश सरकारलाई जग्गा उपलब्ध गराएको नगर प्रमुख महतले बताए । अन्तराष्ट्रिय सभाहल बनाउन प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरिसकेको छ । सभाहल निर्माणको लागि आवश्यक बजेट थप्न सकिने नगर प्रमुख महतले बताए ।

‘यसअघि बासेदव सभागृहलाई प्रदेशसभा भवन बनाउने भनिएको थियो । तर, प्रविधिक त्रुटीको कारण त्यो भवन प्रदेशसभाको लागि उपयुक्त नभएको र पर्याप्त जग्गा नहुँदा हामीले भुटनदेवीको स्कुलको चौरलाई प्रस्ताव गरेका हौँ ।–’ प्रमुख महतले तु खबरसँग भने ।

यसअघि हेटौंडा–४ हुप्रचौरमा रहेको बासुदेव सभागृहलाई प्रदेशसभा भवन बनाउने भनिएपनि सभागृह परिसरमा पर्याप्त जग्गाको अभाव र प्रदेशको राजधानीको अन्यौलताले प्रदेश सरकारले योजना अगाडि बढाएको थिएन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*