हेटौंडाका दुई खेलाडीलाई एन्फाको प्रतिबन्ध
हेटौंडा, २५ पुस । मैदानमा जारी खोलमा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हेटौंडाका २ खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबीच भएको खेलमा झगडा गरेपछि हेटौंडाका रञ्जन विष्ट र अशोक बराललाई एन्फाले प्रतिबन्ध लगाएको हो । मनाङ मस्र्याङ्दीका खेलाडी रञ्जनले २ खेल र बरालले ५ खेल प्रतिबन्धका कारण खेल्न पाउने छैनन् ।
मनाङका दोस्रो रोजाईका गोलकिपर बराललाई एन्फाले १० हजार जरिवाना समेत गराएको छ । बरालले विपक्षी खेलाडीलाई मैदान भित्र प्रवेश गरेर हातपात गरेका थिए । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो ।
यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ ।
डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए ।
यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।
