प्रदेशको नाम बाग्मती राख्न नहुने भन्दै हेटौंडामा विरोध
हेटौंडा, २३ पुस । प्रदेश ३ को नामाकारणको विरोधमा आज बुधवार हेटौंडामा विरोध र्याली निकालिएको छ । हेटौंडाको बुद्धचोकमा कोणसभा गरिएको थियो ।
प्रदेश ३ को नाम बाग्मती राख्ने चर्चा भएपछि आदीवासी समुदायले नेवाः ताम्सालिङ नाम राख्न माग गर्दै विरोध र्याली निकालेको हो । र्यालीमा सहभागीले पहिचान मेटाउन पाइदैन भन्दै नारावाजी गरेका थिए ।
नेपाल आदीवासी जनजाती महासंघ र जातीय संगठनहरुले विरोध कार्यक्रम आयोजना गरेको थियो । बुद्धचोकबाट सुरु भएको र्याली अहिले प्रदेशसभा भवन अगाडि पुगेको छ । समुदायले यसअघि पनि पटक–पटक हेटौंडा र काठमाडौंमा विरोध र्याली निकालेको थियो ।
सत्तारुढ दल नेकपा सचिवालयले प्रदेश ३ को नाम बाग्मती राख्न नेकपा संसदीय दललाई निर्देशन दिएको थियो । निर्देशन दिए लगत्तै पहिचान मेटाउन खोजिएको भन्दै बाग्मती नामको विरोध भएको थियो । केही सांसदहरुले प्रदेशको नाम नेवाःताम्सालिङ राख्न माग गर्दै आएका छन् ।
