शुल्क वृद्धि खोरजको माग गर्दै मकवानपुर क्याम्पसमा रिले अनशन
हेटौंडा, २२ पुस । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको आइतबार बसेको बैठकले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु क्याम्पस परिसरमा रिले अनशनमा बसेका छन् । आन्दोलनरत् विद्यार्थीहरुले शुल्क वृद्धि खारेज गर्नुपर्ने माग राखेका छन् ।
शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्य कक्ष, स्टाफ कक्ष र क्याम्पसको प्रशासन शाखामा ताला लगाएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति कुमार केसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी र अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मित्रबहादुर बस्नेतले रिले अनशन सुरु गरेका हुन् ।
विद्यार्थीहरुको विरोधकले क्यम्पससभाबाट शुल्क वृद्धि गर्ने प्रयास विफल भएको थियो । अब प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । ७ वर्ष देखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्क वृद्धि गरेको जनाइएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा शुल्कवृद्धि गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले यसअघि नै विरोध जनाइसकेको छ । केसीले माग सम्बोधन नभएसम्म अनशन नछोड्ने बताए ।
