मकवानपुरका स्वर्ण विजेता खेलाडीलाई १ लाख पुरस्कार
हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख रुपियाँ दिने घोषणा गरेको छ ।
आइतबार बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वर्ण पदक विजेता मकवानपुरका खेलाडीलाई सम्मान स्वरुप जनही १ लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई हस्तान्तरण गरिने हेटौंडा नगर प्रमुख हरिबहादुर महतले बताए ।
सागमा रजत पदक विजेता खेलाडीलाई जनही ७५ हजार रुपियाँ र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपियाँ पुरस्कार दिइने कार्यपालिका बैठकले निर्णय गरेको हो । मकवानपुरका १३ जना खेलाडीले तीनवटै विधामा गरी पदक ल्याएका थिए ।
सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जिवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।
शिलु डंगोलले उसुमा, माया स्याङ्तान र निकेश मगरले बास्केटबलमा, ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत पदक जितेका थिए । करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामाले कास्य पदक जितेका थिए ।
