गौतम गएनन्, श्रेष्ठले बिर्से बाचा
राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरमागर्मी बहस चल्यो। आकांक्षी करिब डेढ सयकोनाम एकातिर थियो, सचिवालय बैठकको बहस अर्कैतिर ।
बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बन्ने या नबन्नेमै केन्द्रित भयो। उनीहरूका विषयमा बिहान १० बजेतिर जब छिनोफानो भयो, बल्ल नेकपाले अन्य व्यक्तिबारे छलफल चलायो ।
स्रोतका अनुसार बैठकमा गौतमले राष्ट्रिय सभा र प्रतिनिधिसभासम्बन्धी संवैधानिक दृष्टिकोण एउटै भए मात्रै आफू राष्ट्रिय सभा सदस्य बन्ने बताएका थिए ।
‘मलाई प्रधानमन्त्री बनाउन दुवै अध्यक्षले पटक–पटक दिएको बचन पूरा गर्ने उचित मौका यही हो,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतलेभन्यो। तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न नसकिनेजवाफ दिए ।
त्यसपछि गौतमले ‘त्यसो हो भने राष्ट्रिय सभा सदस्य बन्दिन’ भनेका थिए । योसँगै संसद् छिर्ने गौतमको बाटो तत्काललाई बन्द भएको छ ।
गौतम निकटस्थसँग दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालले आफूलँई प्रधानमन्त्री बनाउन आश्वासन दिएको बताइरहन्छन् । शक्ति र सत्ताबाहिर बस्ने आफ्नो स्वभावै नभएको उनको भनाइ छ ।
तत्कालीन एमालेका उपाध्यक्ष गौतम २०७४ को प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
