वीपी कपको उपाधि हेटौंडा–२ ले जित्यो
हेटौंडा, १६ पुस । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा भएको दोस्रो वीपी कप–२०७६ रनिङ्गशिल्ड फुटवल प्रतियोगिताको उपाधि हेटौंडाको २ नम्बर वडाले हात पारेको छ ।
४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर संघले लोकतान्त्रिक चौर (हुप्र)मा वीपी कप आयोजना गरेको थियो । आज बुधवार उपाधिको लागि भएको खेलमा हेटौंडा–३ लाई टाइब्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै २ नम्बर वडाले उपाधी जितेको हो ।
२ नम्बर वडाले ५४ तोलाको चाँदी जडित रनिङशिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको हेटौंडा–३ ले शिल्ड प्रमाणपत्रसहित नगद २५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ र प्रदेश ३ का लेखा समिति संयोजक न्हुच्छे नारायण श्रेष्ठले प्रमाणपत्र र शिल्ड मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा मकवानपुरका २२ टोलीको सहभागिता रहेको थियो ।
