माधव नेपालले हेटौंडामा चित्त दुखाउँदै भने–नेकपा विधिमा चल्न सकेन
हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधिमा नचलेको आरोप लगाएका छन् ।
उनले पार्टी विधि भन्दा बाहिर गएको घुमाउरो तरिकाले भनेका छन् । ‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ ।–’ उनले भने ।
नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् ।
नेता नेपालले पार्टीको क्रियाकलाप देखेर चित्त दुखेको बताए । पार्टीमा जुनियरलाई काखा र सिनियरलाई पाखा लगाएको उनको आरोप छ ।
उनले नेकपा संधै देशको ठूलो पार्टी हुने बताएका छन् । जनताको विश्वास र भरोसा जितेको कारण नेकपा देशकै सर्वश्रेष्ठ पार्टी रहनेमा कुनै दुइमत नभएको उनको भनाई छ ।
उनले नेकपाको केन्द्रदेखि जिल्ल कमिटी धेरै ठूलो संख्याको भएपनि पछि घटाउँदै लगिने बताए ।
पूर्व एमाले र माओवादी एकतालाई मिलाउन केन्द्र र जिल्ला कमिटीको संख्या ठूलो भएको उनले स्पष्ट पारे । अब पार्टीमा प्रतिस्पर्धा गरेर कमिटीमा स्थान बनाउनु पर्ने उनले जनाए ।
नेता नेपालले पार्टीलाई अब नयाँपुस्ताले सम्हाल्ने बताएका छन् । पार्टीमा वृद्धवृद्धा धेरै र युवाहरु बाहिर भएको भन्दै पार्टी युवाहरुकै हातमा हुनुपर्ने धारणा राखे ।
कार्यक्रमको अबसरमा नेता नेपालले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराएका थिए।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश ३ सहइञ्चार्ज काशीनाथ अधिकारी, नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, विरोध खतिवडा, कुमारी मोक्तानलगायतले आफ्ना धारणा राखेका थिए ।
