हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने
मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ।
आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने जनाइएको छ।
पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १५ वटा टोली र सात वटा गाउँपालिका सहित २२ टोलीको सहभागिता रहने जनाइएको छ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक प्रदीप कंडेलले जानकारी दिए ।
यस्तै विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
