काँग्रेसभित्र गुट उपगुट अन्त्य हुनुपर्छ : कोइराला
हेटौंडा, २९ मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले नेपाली काँग्रेस भित्र गुट उपगुट विकास हुँदा पार्टीलाई धक्का पुगेको बताएकी छन् ।
शनिबार हेटौंडामा गिरिजाप्रसाद कोइराला फाउन्डेशन मकवानपुरको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको भन्दै गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
उनले पार्टीभित्रको गुट उपगुटको कारण काँग्रेसलाई गम्भीर धक्का लागिरहेको भन्दै वीपी, गणेशमानलगायतका नेताहरुको त्याग र बलिदानलाई सम्झेर पार्टीको काममा लाग्नुपर्ने बताए ।
कोइरालाले मुलुकमा अहिले कम्युनिष्ट सरकार एकलौटी ढंगले अघि बढिरहेको भन्दै सरकारले जनताका लागि केही पनि गर्न नसकेको आरोप लगाइन् ।
फाउन्डेशन मकवानपुरका अध्यक्ष नारायण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा थियो ।
कार्यालय उद्घाटनसँगै फाउन्डेशनले शनिबार नै नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जीवन घटनाको कुनै कालखण्डमा आधारित ‘प्रजातन्त्रको लागि अपहरण’ नामक वृत्तचित्रसमेत प्रदर्शनी गरेको छ । पत्रकार जगत नेपालको लेखन तथा निर्देशनमा वृत्तचित्र तयार गरिएको थियो ।
