प्रदेश सरकारले १३ वटै जिल्लामा देखिने गरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, २४ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा देखिने गरी काम भइरहेको बताएका छन् ।
मंगलबार चितवनको मेघौलीमा बन्ने राइनो पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा देखिने गरी काम गरिरहेको बताएका हुन् ।
उनले कानून बनाउनेदेखि विभिन्न नीतिगत काममा प्रदेश सरकारले केही समय खर्चिएको भए पनि अब भने द्रुत गतिमा काम अघि बढिरहेको बताए ।
कृषि र पर्यटनबाट मुलुकमा सम्वृद्धि आउन सक्ने भएकोले यी दुई बिषयलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा २ करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए । पार्कको कुल लागत २३ करोड छ ।
