मुख्यमन्त्री पौडेलले गरे नेपाली खेलाडीको प्रशंसा
मकवानपुर, २२ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेको छ ।
मुख्यमन्त्री पौडेलले आईतबार (आज) एक सन्देशमार्फत नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गरेको हो ।
“हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु । बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना” सन्देशमा उल्लेख छ ।
सन्देशमार्फत पौडेलले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार लागि रहेको बताउँदै खेलकूदको विकासका लागि सरकारले सञ्चालन गरिरहेका गतिविधि प्रस्तुत गरेको छ ।
