मनहरीको प्रतापपुरमा बन्नेभयो १७ सय मिटर तटबन्ध
मकवानपुर, २२ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास भएको छ । शनिबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले उक्त तटबन्धनको शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्र्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका अगुवाहरुलाई आग्रह गरे ।
उनले तटबन्धन निर्माणका लागि आफूले केन्द्रमै ठूलो लडाइँ लड्नुपरेको प्रसंग उठाउँदै प्रतापपुरदेखि लोथरखोलासम्म जोड्न् तटबन्धन निर्माणको कार्यलाई निष्कर्षमा पु¥याउने गरी काम गरिने बताए ।
‘ग्यारेन्टी नभएका बिषयहरुमा झुटा आश्वासन दिएर मात्रै पनि हुँदैन’, सांसद खतिवडाले भने–‘यो गाउँलाई राप्तीबाट भएको खतरा न्यूनिकरणका लागि बजेट बिनियोजनमा भूमिका खेल्नका लागि म सदैव लागिपरेको छु ।’
उनले चालू आर्थिक बर्षमा १ हजार ७ सय मिटर बलियो तटबन्धन निर्माणका लागि गरिएको पहलले सार्थकता पाएकामा खुसी व्यक्त गर्दै प्रभावकारी काम देखाउन ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले प्रतापपुर संरक्षणको बिषयलाई स्थानीय सरकारले मात्रै टार्न नसकिने भएकाले संघीय सरकारसमक्ष पहलकदमी गरिएको बताए ।
कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ६ नं वडाध्यक्ष गोपीलाल मुक्तान, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङलगायतको सहभागिता रहेको थियो ।
