समायोजनले काँँग्रेस महाधिवेशन प्रभावित
कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म तय गर्न सकेको छैन ।
महाधिवेशन गर्न नसकेको ‘विशेष कारण’ देखाएर एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था विधानमा छ । त्यस अतिरिक्त थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ ।
विधानअनुसार एक वर्ष कार्यकाल बढाएर ०७७ फागुनसम्ममा महाधिवेशन गर्ने योजना सभापति देउवाको छ । यो योजना उनले केही समयअघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सुनाइसकेका छन् । चाँडै महाधिवेशन तयारी थाल्न निरन्तर दबाब दिँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भने नेतृत्वको ढिलासुस्तीबाट सशंकित छन् ।
उनीहरूले विधानको एक वर्ष र संविधानले दिएको अतिरिक्त ६ महिनाको समयसमेत नेतृत्वले लिन खोजेको ठानेका छन् । नेतृत्वमा दोहोरिनका लागि देउवाले राष्ट्रियरअन्तर्राष्ट्रिय परिस्थिति र पार्टी संरचनाहरू आफूअनुकूल बनाएपछि मात्र महाधिवेशन गराउन खोजेको बुझाइ पौडेल पक्षको छ ।
कांग्रेस नेता रामशरण महतले पार्टीको गाउँरनगरपालिका र वडा तहको संरचना समायोजनमा भइरहेको विलम्बले महाधिवेशन ढिला हुने आशंका बढाएको बताए । कांग्रेसले नयाँ राज्य संरचनाअनुसार पार्टी कमिटीलाई समायोजन गर्न थालेको चार महिना बितिसकेको छ, तर अझै सकिएको छैन । साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई मंसिर मसान्तसम्ममा समायोजन गरिसक्न जिम्मा दिएको थियो ।
समितिले १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिको समायोजन करिब टुंग्याएको छ । तर ७ सय ४३ पालिका र ६ हजार ७ सय ४३ वडा तहको संरचनाको समायोजन अझै टुंगिन सकेको छैन । समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार मंसिर मसान्तसम्ममा पालिकाहरूको समायोजन सकिनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
