महरालाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता
बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् ।
जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।
उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।
रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।
रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।
महरालाई जिल्ला अदालत काठमाडौंले गत १८ कात्तिकमा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
