उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालय आजदेखि शनिबारसम्म बन्द
मकवानपुर, ११ मंसिर । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालयहरु आजदेखि चार दिन बन्द हुने भएका छन् ।
निर्वाचन आयोगले मतदान केन्द्र परेका विद्यालयहरु आज (बुधबार) देखि शनिबारसम्म बन्द गर्न आग्रह गरेको हो । साथै आयोगका अनुसार, उपनिर्वाचनका लागि मतदान केन्द्र नपरेको विद्यालय भने खुल्ला हुनेछ ।
उपनिर्वाचनको लागि आजैदेखि निर्वाचन क्षेत्रमा कर्मचारीहरुलाई पठाईएको छ ।
उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार अन्तिम दिन हो ।
मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।
