उपनिर्वाचन २०७६ : आज चुनाव प्रचार प्रसार गर्ने अन्तिम दिन, नियम उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि १ लाखसम्म जरिवाना
मकवानपुर, ११ मंसिर । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार अन्तिम दिन हो ।
मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन ।
मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ ।
३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी सबै क्षेत्रका उम्मेदवारहरुलाई आचार संहिता लागू हुन्छ ।
