नवनियुक्त मन्त्रीको आज सपथ ग्रहण हुने
मकवानपुर, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको सपथ ग्रहण बिहीबार (आज) हुने भएको छ ।
नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेका हुन् । त्यसअनुसार राष्ट्रपतिले नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।
पुर्नगठित मन्त्री मण्डलमा मन्त्री र राज्यमन्त्री गरी ९ जना नयाँ रहेका छन् । जसमा मन्त्रीतर्फ हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ छन् भने राज्यमन्त्रीमा मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् ।
