काँग्रेस महाधिवेशन प्रतिनिधिको भेला : ‘उपनिर्वाचन प्रतिष्ठाको विषय’
मकवानपुर । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई पार्टीले प्रतिष्ठा र परीक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रदेश ३ को राजधानी हेटौंडामा भएको महाधिवेशन प्रतिनिधिको भेला तथा प्रशिक्षणमा सहभागीले वर्तमान सरकार आलोचित भइरहेका कारण उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएर प्रचारप्रसारमा जुट्न प्रतिनिधिहरूले जोड दिए ।
‘पार्टीको शीर्ष नेतृत्वलाई एक ढिक्का भएर गुट अन्त्य भएको सन्देश दिँदै उपनिर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने गरी रणनीति बनाउन आग्रह गरिएको छ,’ महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटीले भने ।
भेलामा सहभागीले वर्तमान नेकपा नेतृत्वको सरकार क्रमशः अलोकप्रिय भइरहेको र जनमत गुमाइरहेको निष्कर्ष निकालेको उनले बताए ।
समापन समारोहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणालीअनुसार काम नगरेका आरोप लगाएका थिए । संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबार प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको उनको भनाइ थियो ।
दुईदिने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका दुई सय ९० महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यको सहभागिता थियो ।
सहभागीलाई प्रतिष्ठानका प्रमुख निधि, सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरल, डा. जगदीशेचन्द पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्य डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
