काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : अध्यक्ष थापा
पोखरा, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिस्ट बिचार बोकेर काँग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरेका छन् ।
कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सो कुरा दाबी गरेका हुन् । उनले बिगतमा आफूहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिएर अघि बढ्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।
‘राप्रपाले आगामी दिनमा जनता केन्द्रित, संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनीति गर्नेछ’ भन्दै थापाले भने, ‘सत्ताकेन्द्रीत राजनितीलाई महत्त्व नदिई आदर्शको राजनीति गर्छौंँ ।’
उनले वाइडबढी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर छली प्रकरणलाई बल पुग्ने गरि काँग्रेस कम्युनिस्ट नरोज्न मतदातालाई अनुरोध गरे ।
‘कास्कीको एक सीटमा कम्युनिस्टले हार्दा सरकार ढल्दैन, काँग्रेसले जित्दा उत्पात बढ्दैन,’ थापाले परिवर्तनको सन्देश दिन राप्रपालाई सघाउन उनले आग्रह गरे ।
