सांसद शान्ता चौधरीको गाडी दुर्घटना
दाङ, १९ कात्तिक । नेकपाकी सचेतक शान्ता चौधरीको दुर्घटना भएको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति दुर्घटना भएको हो ।
यद्यपि सो गाडीमा चौधरी थिइनन् । उक्त गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । दुर्घटनाबाट मानवीय क्षति भने भएइको छैन् ।
चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।
गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए ।
सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।
