आलम : आजदेखि थुनछेक बहस
काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा मंगलबार (आज) देखि थुनछेक बहस हुने भएको छ ।
सोमबार सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ ।
१२ वर्षअघि रौतहटमा इँटाभट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।
आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
