नेकपाले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने
काठमाडौँ, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टु्ंगो लगाउने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि आइतबार उम्मेदवारको टु्ंगो लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफलमात्रै भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ ।
३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
