नेपालमा वाक स्वतन्त्रताको हक जथाभावी प्रयोग भएको प्रधानमन्त्रीको दाबी
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास कार्यक्रममा सो कुरा बताउँदै प्रधानमन्त्री ओलीले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए ।
नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दावी गरे । ‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले कोही दुख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न पनि आग्रह गरे । ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं । दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्र्दैन’ उनले भने ।
आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने प्रधानमन्त्री ओलीले बताए । सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए ।
