वर्तमान सरकार हत्याहिंसा, बलात्कार र वाइडबडी जस्ता काण्डै–काण्डमा फसेको छ : नेता बानियाँ
मकवानपुर, ७ असोज । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको सरकार ओलीको, काँग्रेसको सरकार भोलिको हुने पक्का भएको बताएका छन् ।
मंगलबार (आज) हेटौंडामा नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा बोल्दै नेता बानियाँले सो कुरा बताएका हुन् ।
नेता बानियाँले हजारौंको बलिदान र कयौं वर्षदेखिको जकेडिएको व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको रवैयाका कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधी तत्वहरुले टाउको उठाउन थालेको बताए ।
कम्युनिष्ट सरकार हत्याहिंसा, बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता काण्डै–काण्डमा फसिरहेको भन्दै नेता बानियाँले सरकारले जनताको हित विपरित काम गर्दै देशलाई नै संकटमा धकेलिरहेको बताए ।
उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले लोकतन्त्र र प्रजातन्त्रको सम्मान गर्दै अघि बढ्नेमा विश्वस्त हुन आग्रह गर्दै कम्युनिष्टले पेलेरै अघि बढ्न खोजे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
