कांग्रेस पार्टी सत्ताबाहिर रहँनु परेकोले संविधान कार्यान्वयनमा चुनौती देखियो : पौडेल
रोल्पा, ७ असोज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनपछि आफ्नो पार्टी सत्ताबाहिरै सीमित रहनु परेकाले संविधान कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।
कार्यकर्ता भेटघाट र जनजागरण अभियान अन्तर्गत रोल्पा आएका नेता पौडेलले कांग्रेसले सत्ताको बागडोर सम्हाल्न नपाउँदा संविधानको मर्म विपरीतका गतिविधि बढेको बताए।
नेता पौडेलले सत्ताबाहिरैबाट सरकारलाई सचेत गराइरहेको बताए । ‘सदन र सडकबाट सत्ताधारीलाई सचेत र चेतावनी दिँदै आएका छौं’, उनले भने ।
नेकपालाई सरकार चलाउन जनताले ५ वर्षको म्याडेन्ट दिएकाले पुरै अवधि सरकार चलाउन र जनताको भावना बुझ्न उनले आग्रह गरे ।
‘नेकपाको सरकारलाई ५ वर्षको अवधिसम्म सरकार चलाउनुस् र राम्रो काम गरेर सदुपयोग गर्नुस् भनेका छौं ।’ पौडेलले भने ।
लामो समयदेखिको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको टुंगो लागिसकेकाले अर्को आन्दोलन गर्नु आवश्यक नभएको नेता पौडेलले बताए । उनले अहिलेकै राजनीतिक व्यवस्था नै उपयुक्त भएकाले मुलुकको विकास गर्न विशेष योजना बनाउन आवश्यक रहेको बताए ।
उनले चन्द समूहलाई हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे ।
