‘काँग्रेसभन्दा ठूलो घर परिवार होइन’ भन्दै सुसाईट नोट लेखेर मकवानपुरका काँग्रेस नेता न्यौपानेले गरे आत्महत्या
मकवानपुर, २१ भदौ । नेपाली काँग्रेसका क्षेत्रीय स्तरका नेता चतुर्भुज न्यौपानेले आत्महत्या गरेका छन् । मनहरी गाउँपालिका वडा नम्वर १ मकरीका स्थायी बासिन्दा र नेपाली काँग्रेस ४ नं क्षेत्रीय समितिका सदस्य रहेका न्यौपानेले बुधवार साँझ घरमै बिष सेवन गरेका थिए ।
न्यौपानेले बिष सेवन गर्नुअघि सुसाइड नोट छाडेको नेपाली काँग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीले जानकारी दिए ।
‘मेरो अन्त्येष्टि परिवारले भन्दा पनि काँग्रेसका नेता भरत पराजुलीले गरोस्, काँग्रेसभन्दा ठूलो घर परिवार होइन’ भन्ने हिसावले सुसाइड नोट लखी बुधबार साँझ बिष सेवन गरेका उनको बिहिबार साँझ चितवनको भरतपुरमा निधन भएको नेपाली काँग्रेसले जनाएको छ ।
उनले घरमा भएको सामान्य विवादका कारण बिष सेवन गरेको पाइएको छ । उनको शुक्रबार दिउँसो हेटौँडास्थित राप्तीतटमा अन्त्येष्टि गरिएको छ । उनको शवमा ३ नं प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एबम् काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँले चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस क्षेत्रीय समिति सचिवमा पराजित भएपछि उनलाई पार्टीले क्षेत्रीय सदस्यमा मनोनीत गरेको थियो ।
