नेकपा सचिवालय बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौँ २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
बैठकअघि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि नेकपाको सचिवालयको बैठक भोलीसम्मका लागि स्थगित भएको हो ।
स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता ईश्वर पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् । यसबारे अध्यक्षले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए ।
त्यस्तै जनवर्गीय संगठनको नेतृत्वबारे पूर्व एमालेमा विवाद देखिएपछि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको बताइएको छ ।
