प्रदेशको नाम नेवाः ताम्सालिङ्ग नै हुनुपर्छः कानूनमन्त्री जम्कट्टेल
मकवानपुर २६ साउन । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ को नाम नेवा : ताम्सालिङ्ग नै हुनुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री जम्कट्टेलले प्रदेश ३ मा नेवार र तामाङको बाहुल्य रहेको भन्दै प्रदेशको नाम नेवाः ताम्सालिङ्ग हुनुपर्ने बताएका हुन् ।
उनले समावेशी र समानुपातिक व्यवस्थाका लागि सकारात्मक ढंगले खबरदारी गर्नुपर्ने बताए । ‘राजनैतिक परिवर्तन भयो, सत्ता परिवर्तन पनि भयो,’ उनले भने, ‘कर्मचारी परिवर्तन नहुने, काम गर्ने तरिका परिवर्तन नहुने भएकाले संविधानमा व्यवस्था भएपनि कार्यान्वयन भएको छैन ।’
‘संविधानमा समावेशी र समानुपातिकमात्र होईन, पहिचानको कुरा पनि छ,’ उनले भने, ‘नयाँ ढंगले बहस र छलफल गर्नुपर्ने अवस्था छ ।’ संविधान, समावेशी र समानुपातिकलाई पूर्ण रुपमा कार्यान्वयन गरी पुराना ऐन, कानून खारेज गराउन पत्रकारले भुमिका खेल्नुपर्ने भन्दै उनले परिवर्तनलाई पूर्ण कार्यान्वयन नगरे शासन व्यवस्था नै खतरामा पर्ने बताए ।
