वर्तमान सरकार सबै कुरामा असफल छ : महत
काठमाडौं १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाएका हुन् ।
उनले भने, ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो ।’
साक्षात्कारमा बोल्दै सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको आरोप लगाए ।
वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ ।
सर्लाहीमा हत्या भएकोले त्यसको सत्य–तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे ।
