सचिवालय बैठकअघि नै पूर्वमाओवादी नेताहरुबीच छलफल
काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आईतबार) सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने भएको हो ।
उक्त बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुनेछ ।
यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ ।
